दरबारका तत्कालीन सैनिक सचिव विवेक शाहको खुलासा

ऐश्वर्यले दिएकी थिइन् नीराजनलाई युवराजाधिराज घोषणा गर्ने धम्की

अधिराजकुमारी श्रुति महाराजाधिराजकी असाध्यै निकट र प्यारी पनि । अनि बडामहारानीका प्यारा अधिराजकुमार नीराजन । नीराजन एकदमै लजाउने स्वभावका । कान्छो भनेपछि हरेक आमाबुबालाई स्वाभाविक रूपले प्यारो लागिहाल्छ । युवराजाधिराजलाई आफ्नोभन्दा पहिले बहिनी अधिराजकुमारी श्रुतिको विवाह भएको पटक्कै मन परेको थिएन । यसैबीच जेठ १९ को घटना हुनु एक-डेढ महिनाअघि लञ्चमा बडामहारानीबाट ‘दीपेन्द्रले हामीले खोजेकी केटी विवाह नगर्ने हो भने अब नीराजनको पनि विवाह गरिदिन्छौँ, दीपेन्द्रले यस्तै गरिरहने हो भने नीराजनलाई नै युवराजाधिराज घोषणा गर्छौं’ भनेर धम्कीको भाषा प्रयोग गरिबक्सेछ । दुवै कुरा दीपेन्द्र सरकारले मसँग ‘सेयर’ गरिबक्सेको थियो । अरू वेला पनि लन्च वा डिनरका वेला विवाहकै विषयमा बडामहारानी र युवराजाधिराजबीच निकै विवाद हुँदोरहेछ । बडामहारानीको धम्कीको भाषाले युवराजाधिराजलाई घाउमा नुनचुक छर्केको जस्तो हुँदो रहेछ । त्यसवेला महाराजाधिराज केही नबोली कुरा सुनेर मात्र बसिबक्सँदो रहेछ । बुबाले आफ्नो आफ्नातर्फबाट कहिल्यै केही नबोलिदिँदा युवराजाधिराजलाई झनै पीडा हुँदो हो । बडामहारानीले ‘नीराजनलाई युवराजाधिराज घोषणा गर्न सकिने’ हुकुम हुन थालेपछि युवराजाधिराज दीपेन्द्रले ‘इफ आई डु नट बिकम दी किङ, नोबडी क्यान बिकम’ (यदि म राजा भइनँ भने अरू कोही पनि राजा हुन सक्दैन) भन्न थालिबक्सेकोसमेत वेलावेलामा सुनिन्थ्यो । पृष्ठ ५२

दीपेन्द्रको चिना परिवर्तन गर्न नमान्ने ज्योतिषी दरबारबाट निकालिए

धेरै वर्षपछि दीपेन्द्र सरकारसम्बन्धी एउटा प्रसंग मैले सुनेको थिएँ । मौसुफ जन्मिबक्सेपछि न्वारानको दिन चिना बनाउने क्रममा ज्योतिषी दिव्यमंगल जोशीले ‘युवराजाधिराजको जन्म लगन ज्यादै खराब छ, राजपरिवारका लागि अनिष्ट पनि हुन सक्छ, राजा हुने योग पनि छैन’ भन्नुभएछ । यसपछि दरबारबाट उहाँलाई चिना सच्याएर राम्रो बनाउनू भनिएको रहेछ । तर, उहाँले मान्नुभएनछ । अनि तत्कालै उहाँलाई हटाएर अर्का ज्योतिषी डा. मंगलराज जोशीलाई ल्याएर चिना सच्याउन लगाइएछ । यो घटनापछि ज्योतिषी दिव्यमंगल जोशी कहिल्यै राजदरबार आउनुभएनछ । युवराजाधिराज दीपेन्द्रको स्वभाव, चरित्र र समग्र घटनाक्रम हेर्दा लाग्छ, ज्योतिषी दिव्यमंगल जोशीसामु सरकार र राजपरिवारको भविष्य त्यतिबेलै छर्लंग भइसकेको रहेछ । पृष्ठ ५३

वीरेन्द्रले मनाएका थिएएमालेको अल्पमतको सरकार बनाउन राजा वीरेन्द्रको पनि थियो सहयोग, लोकेन्द्रबहादुर चन्दलाई

manmohandhikari०५१ को चुनावमा आन्तरिक विवाद र कैयौँ स्थानमा बागी उम्मेदवारका कारण निर्वाचनमा कांग्रेसले लज्जास्पद पराजय भोग्नुपर्‍यो । एमालेले बहुमत ल्याउन त सकेन, तर प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका रूपमा स्थापित भयो । यसरी मुलुकमा बहुमतको सरकार नबन्ने पक्का भयो । कांग्रेसले विभिन्न पार्टीको समर्थन जुटाएर सरकार बनाउन कोसिस गरेको थियो, तर सम्भव भएन । पहिलो आमचुनावमा थोरै सिट जितेको राप्रपा निर्वाचनअघि एकीकरण भएर प्रतिनिधिसभामा राम्रो सिट ल्याउन सफल भएको थियो । कांग्रेस, एमाले दुवैले बहुमत नल्याएको अवस्थामा राप्रपा सत्ताको साँचो आफ्नो हातमा लिएको दल बन्न पुग्यो । यसबीच संसदीय परम्पराअनुसार एमाले अध्यक्ष मनमोहन अधिकारीलाई प्रधानमन्त्री बनाउने प्रयास प्रारम्भ भयो भने त्योसँगसँगै कम्युनिस्टलाई प्रधानमन्त्री बन्न दिनुहुँदैन भन्ने देशभित्र र बाहिरबाट चर्को दबाब सुरु भयो । खासगरी विभिन्न विदेशी शक्तिकेन्द्रहरूबाट कुनै पनि हालतमा एमालेको सरकार बन्न दिनुहुँदैन भनेर दबाब पनि आउन थालेको थियो । धेरै देशका राजदूतले एमालेको सरकार नबनोस् भनेर निकै दौडधुप गरेका थिए । नेपालस्थित विदेशी राजदूतहरूले नेपाली नेताहरूकहाँ दौडधुप गरेर अनावश्यक सल्लाह दिने चलन त्यतिवेलै सुरु भएको हो । कम्युनिस्ट पार्टीको नेतालाई नेपालको प्रधानमन्त्री बनाउनु हुन्छ कि हुँदैन भन्ने प्रश्न राजदरबारमा समेत व्यापक बहसको विषय बनेको थियो ।

त्यो वेला म वीरेन्द्र सरकारको एडिसी थिएँ । ०५१ मंसिरको दोस्रो साताको शनिबार एक्लै एडिसी अफिसमा थिएँ । वीरेन्द्र सरकार बाहिर बगैँचामा सवारी भयो । सरकारबाट मलाई अनाचक बोलाइबक्स्यो र ‘बाहिर राजनीतिक अवस्था के भइरहेको छ, किन अहिलेसम्म सरकार बन्न सकेन ?’ भनेर ताजा राजनीतिक अवस्थाबारे मेरो धारणा बुझ्न चाहिबक्स्यो । एडिसी भनेको सरकारको अंगरक्षक मात्र होइन, सबैभन्दा नजिकको विश्वासपात्र पनि हो । एडिसीले आफूले जानकारी पाएका बाहिरका महत्त्वपूर्ण कुराहरू सरकारमा जाहेर गर्नुपर्छ ।

मैले राजनीतिक स्थितिको व्याख्या र विश्लेषण गर्दै जाहेर गरेँ, ‘सरकार, बाहिर कम्युनिस्ट नेतालाई कुनै पनि हालतमा प्रधानमन्त्री बनाउनु हुँदैन भनेर डेडलक भइरहेको छ । तर, मेरो विचारमा कम्युनिस्टलाई प्रधानमन्त्री बनाउँदा पनि राम्रो हुन सक्छ । मुलुकको वर्तमान राजनीतिक समीकरणका आधारमा समेत कम्युनिस्ट नेता मनमोहन अधिकारीलाई प्रधानमन्त्री बनाउनैपर्ने हुन्छ । यसबाट देशका लागि पनि र सरकारका लागि पनि नयाँ अनुभव हुन सक्छ । देश नयाँ हिसाबले अघि बढ्न सक्छ । सन्देश पनि राम्रै जान सक्छ । तर, यसका निम्ति कोही-कसैले समन्वयकारी भूमिका निर्वाह गरिरहेको छैन ।’ साथै मैले त्यसवेला सत्ता-समीकरणका विभिन्न आयाममा भइरहेका प्रयत्नबारे पनि मलाई जानकारी भएजति सरकारमा जाहेर गरेँ ।

त्यसपछि सरकारबाट हुकुम भयो, ‘विवेक, त्यसो भए एकपटक लोकेन्द्र (भूतपूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द) लाई फोन गर । उनी कहाँ छन् ? तत्काल आउन सक्छन् कि ? कसैले थाहा नपाउने गरी उनलाई यहाँ ल्याउने प्रबन्ध तिमी आफैं गर ।’

मैले भूतपूर्व प्रधानमन्त्री चन्दलाई फोन गरेँ । उहाँ घरमै हुनुहुँदो रहेछ । मैले निजी जिप पठाएँ । गोप्य रूपमा उहाँ आउनुभयो ।

वीरेन्द्र सरकार र उहाँबीच निकै लामो गोप्य वार्ता भयो । के-के विषयमा छलफल भयो, त्यो त मलाई थाहा हुने विषय भएन । तर, सारांशमा सरकारबाट नयाँ मन्त्रिपरिषद् गठनका लागि एमालेलाई सहयोग गर्न हुकुम भयो । त्यसको लगत्तै एमालेलाई राप्रपाले सरकारबाहिरै बसेर समर्थन गर्ने भयो । यसरी मनमोहन अधिकारी नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री बन्नुभयो । एमालेको अल्पमतको सरकार बन्ने भयो । मैले सरकारमा जुन राय जाहेर गरेको थिएँ, त्यो एमालेप्रति कुनै झुकावका कारण गरेको थिइनँ । देशको राजनीतिक अवस्था र परिस्थितिअनुसार आफूले देखेको सही कुरा राखेको मात्र थिएँ । यो प्रसंग एमालेका नेतालाई राप्रपा नेता चन्दले भनेको हुनुपर्छ । यस विषयमा केही पछि तत्कालीन उपप्रधानमन्त्री, रक्षा तथा परराष्ट्रमन्त्री माधवकुमार नेपाल र गृहमन्त्री केपी ओलीले मसँग कुरा गर्नुभएको थियो । यसै वेलादेखि मेरो उहाँहरूसँग व्यक्तिगत चिनजान भयो । यही घटनाका कारण एमाले र राजदरबारको सम्बन्ध पनि सुमधुर बन्यो । पृष्ठ ९४

शेरबहादुरलाई ‘असक्षम’ भन्ने/नभन्नेमा भएको थियो विवाद

हामी पाँचजना सचिवले मिलेर शाही घोषणाको मस्यौदा तयार गर्‍यौँ । र, सरकारमा सामूहिक जाहेरीका लागि गयौँ । मस्यौदामा रहेका प्रत्येक शब्दको लेखाजोखा भयो र परिमार्जन पनि । प्रधानमन्त्री देउवालाई के आरोप लगाउने भन्नेबारे शब्द खोज्न निकै कसरत गर्नुपर्‍यो । मुख्यतः उहाँले आफैंले चुनावको मिति घोषणा गरेर आफैंले चुनाव गराउन नसक्ने भनी चुनावको मिति एक वर्ष पछि सार्नुभएको थियो । त्यसलाई व्यक्त गर्न के भन्नु उपयुक्त हुन्छ भन्ने क्रममा सचिवहरूले धेरै शब्द निकाल्नुभयो । मैले ‘चुनाव गराउन नसक्ने असक्षम’ शब्द प्रयोग गर्दा ठीक हुन्छ होला भनेँ । कसैले यो शब्दको विरोध गर्नुभयो भने कसैले समर्थन । अन्ततः सरकारबाट ‘यही शब्द ठीक हुन्छ’ हुकुम भयो । यसरी प्रधानमन्त्रीका लागि ‘असक्षम’ शब्द राखी शाही घोषणा तयार भयो । (पृष्ठ ३३९)

यसरी गुपचुप पारियो प्रवीण गुरुङ हत्याकाण्ड

paras-shahप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले फोन गरेर भन्नुभयो, ‘दरबारको दक्षिण ढोकाअगाडि आइतबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक गायक प्रवीण गुरुङको घटनास्थलमै मृत्यु भयो । दुर्घटनापश्चात् मोटर नरोकिई तेज गतिमा भागेर केशरमहल, लाजिम्पाट हुँदै अगाडि गयो । पानीपोखरीमा प्रहरीले रोक्न खोज्दा नरोकिई अझ बढी गतिमा अगाडि बढ्यो र निर्मल निवासमा छिर्‍यो ।’ उहाँले उक्त ल्यान्डक्रुजर मोटरको नम्बरसमेत मलाई दिनुभयो । मैले उहाँलाई ‘यो के भएको रहेछ, विस्तृतमा बुझेर खबर गर्छु,’ भनेँ । तत्कालै महाराजाधिराजमा यो कुरा जाहेर गरेँ । सरकारबाट ‘माइला भाइ(अधिराजकुमार ज्ञानेन्द्र) लाई फोन गरेर तुरुन्त बुझ’ हुकुम भयो । त्यसअनुसार मैले ज्ञानेन्द्र सरकारलाई फोन गरेँ । सरकारलाई पनि यसबारे केही जानकारी रहेनछ । ‘म बुझेर खबर गर्छु’ हुकुम भयो । करिब आधा घन्टापछि ज्ञानेन्द्र सरकारको फोन आयो र हुकुम भयो, ‘विवेक, यस इट इज हिम, त्यो मोटर पनि हो र पारसले चलाएको रहेछ, अब यो समस्या कसरी समाधान गर्ने, उपाय निकाल ।’ त्यसवेला सरकार एकदमै आत्तिएको अवस्थामा भएको मलाई लाग्यो ।

मैले महाराजाधिराजमा तत्कालै यो कुरा जाहेर गरेँ । सरकारबाट ‘यस्तो गम्भीर घटनाबाट पारस मस्ट लर्न द लेसन, कानुनी प्रक्रिया पुर्‍याएर के गर्न सकिन्छ, यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ, विचार गर, आइजिपीसँग पनि कुरा गर’ हुकुम भयो ।

गायक प्रवीण गुरुङको दुर्घटनाको विषयलाई लिएर मैले प्रहरी महानिरीक्षकसँग परामर्श गरेँ । उहाँले ‘उक्त नम्बरको मोटरले दुर्घटना गराएको कुराको जिम्मेवारी लिनैपर्छ । तर, कुनै ड्राइभरलाई उपस्थित गराएर सजाय व्यहोर्न लगाउने व्यवस्था गरौँ, मृतकको परिवारलाई क्षतिपूर्ति दिनु उचित हुन्छ’ भनेर मलाई समस्या समाधानका लागि प्रस्ताव गर्नुभयो । त्यसैअनुसार मैले यो कुरा सरकारहरूमा जाहेर गरेँ । उता ज्ञानेन्द्र सरकारका शाही पाश्र्ववर्ती महासेनानी प्रकाशविक्रम शाहले पनि उपत्यकाका प्रहरी प्रमुख डिआइजीसँग कुरा गर्नुभएको रहेछ । उनले पनि ‘कुनै काल्पनिक ड्राइभर तयार पार्नु राम्रो हुन्छ, अहिले तत्कालै मृतकका परिवारलाई राहत दिने र भविष्यमा मृतकका छोराछोरीलाई पढाइदिने व्यवस्था गर्दा राम्रो हुन्छ भन्ने सल्लाह दिएका रहेछन् । (पृष्ठ १४७)

असोज १८ शुभ छ भनेर ज्योतिषीले उक्साएका थिए राजालाई

सरकारबाट आज नै कुनै पनि किसिमको कदम चाल्न उपयुक्त छ भन्ने ज्योतिषीहरूको राय थियो । उनीहरूले ग्रह, नक्षत्र सबै हेरेर राति १० बजेपछि घोषणा गर्नु उपयुक्त हुन्छ भन्ने सुझाब दिएका थिए । त्यसअनुसार १० बजेर ४५ मिनेटको साइत निस्केको थियो । पृष्ठ ३३९

भारतीय राजदूतावासले दरबारका

कर्मचारीको बायोडाटा मागेको थियो

२०५९ जेठ २७ गते सोमबार । भारतीय राजदूतावासले दरबारमा कार्यरत व्यक्तिहरूको व्यक्तिगत विवरण संकलन गर्न थालेको बुझिएको छ । त्यसअनुसार चिरनशमशेर थापा र विश्वविक्रम शाहले आ-आफ्नो व्यक्तिगत विवरण राजदूतावासमा पठाइसकेको र सुदनप्रसाद पोखरेलले पठाउन तयारी गरिरहेको कुरा आएको छ । त्यसै क्रममा मलाई सचिव विश्वविक्रमले ‘भारतीय राजदूतावासबाट जर्साबको व्यक्तिगत विवरण मागिएको छ, मलाई पठाइदिनू’ भन्नुभयो । मैले ‘मेरो व्यक्तिगत विवरण शाही जंगी अड्डा र राजदरबारमा मात्र रहन्छ, म अरू कसैलाई व्यक्तिगत विवरण पठाउँदिनँ’ भनिदिएँ । यो ज्यादै संवेदनशील विषय हो । यसका निम्ति मैले प्रमुख निजीसचिव सुदनप्रसाद पोखरेललाई गालीसमेत गरेँ । उहाँले विश्वले भन्यो भनेर हल्का रूपमा लिनुभयो ।

मैले यो कुरा सरकारमा जाहेर गरेँ ।

सरकार एकदमै रिसाइबक्स्यो । ‘बायोडाटा किन पठाउने ?’ सरकार क्रूद्ध होइबक्स्यो ।

गिरिजाप्रसाद कोइराला पुनः भारतमा भ्रमणमा हुनुहुन्छ । यसै क्रममा उहाँले नयाँदिल्लीसँग सर्वोच्च अदालतमा दायर भएको प्रतिनिधिसभा पुनस्र्थापनासम्बन्धी रिटलाई प्रभावित तुल्याउन र अन्तरिम आदेश जारी गर्न सहयोग गरिदिन माग गर्नुभएछ । उहाँले ‘दरबार, सेना र देउवा मिलेका छन् तर मध्यावधि चुनाव हुन सक्ने अवस्था छैन, संवैधानिक संकट आउने देखिन्छ, यदि चुनाव भए मलाई मद्दत गर्नुपर्‍यो’ भनेर सहयोग माग्नुभएछ । भारतीय पक्षले भने ‘दुवै कांग्रेस एक भएर संयुक्त रूपमा चुनावमा जानुपर्छ, यदि कांग्रेस विभाजन भयो भने चुनावमा वामपन्थीले वर्चस्व कायम गर्न सक्छन्’ भनेर सल्लाह दिएछ । पृष्ठ ३१४

ज्ञानेन्द्रसँग माधव नेपाल र गिरिजाप्रसादले एक-अर्काको गरेका थिए निन्दा

०५९ असोज २४ गते बिहीबार । यो साताभर नै सरकारबाट सबै राजनीतिक पार्टीका नेतालाई छुट्टाछुट्टै दर्शनभेट बक्सेको छ । तर, कुनै पनि ठोस निर्णय भएको छैन । राजनीति अन्योलग्रस्त छ । सबै दलसँग नाम मागिबक्सेको छ, प्रधानमन्त्रीको । कसैले पनि प्रधानमन्त्रीको उपयुक्त व्यक्ति यही हो भनेर नाम पठाउँदैनन् । भित्र बैठकमा एउटा कुरा हुन्छ, बाहिर आएपछि अर्कै । एउटै नाममा कसैको पनि सहमति बनेको छैन । बरु पार्टीहरू लोकेन्द्रबहादुर चन्दको नामको नजिक पुगेका छन् । एमालेले लोकेन्द्रलाई समर्थन गर्ने निर्णय नै गरिसकेको छ । सके आफू हुने, नभए लोकेन्द्र ठीक भन्ने हिसाबले एमालेको निर्णय आएको छ । गिरिजाप्रसाद कोइराला र सूर्यबहादुर थापाको पनि आफैं प्रधानमन्त्री हुने इच्छा छ । सरकारको दर्शनभेटमा आएर माधवकुमार नेपाल ‘गिरिजा प्रधानमन्त्री हुनु हुन्न’ भन्ने, कोइराला आएर ‘सरकार, माधव नेपाललाई कुनै हालतमा प्रधानमन्त्री बनाउनु हुन्न, यो मान्छेबाट सरकारलाई धोका हुन्छ’ भन्ने । अनि सूर्यबहादुर थापा आएर उनीहरू दुवै हुन्न भन्ने । यस्तैयस्तै कुरा मात्र भइरहेको छ । बरु माधव नेपालले चाहिँ सरकारसँगको दर्शनभेटमा लोकेन्द्रको नाममा सहमति जनाउनुभएको छ ।

सरकारबाट गोरखामा एक रात बिताइबक्सेर आज काठमाडौं फिर्ता सवारी भएपछि हामी सचिवहरूलाई बोलाइबक्स्यो । भोलि प्रधानमन्त्री घोषणा गर्नैपर्नेछ । बैठकमा लोकेन्द्रबहादुर चन्दको नाम प्रस्ताव भयो । उहाँलाई नै प्रधानमन्त्री बनाउने सहमति भयो । मन्त्री बनाउन उहाँलाई दिने नामहरू पनि तय भयो । चन्दलाई आफ्नो मन्त्रिमण्डलको टिम बनाउन र आफ्ना सहयोगीलाई मन्त्रिमण्डलमा समावेश गर्नसमेत नदिइने भयो ।(पृष्ठ ३४५)

विराटनगर पुगेका गिरिजाप्रसादको गुप्तचरले गरेका थिए ‘मनिटरिङ’

०५९ असोज २४ गते बिहीबार । वर्तमान राजनीतिक अवस्थाबाट दिक्क मानेर (०५९ असोज २३ गते) बिहीबार गिरिजाप्रसाद कोइराला आराम गर्न भोलि बिहानै विराटनगर जाने भनी खबर आएको छ । कोइराला आराम गर्न भनेर विराटनगर जाने तर त्यहाँ भारतीय गुप्तचरहरूलाई भेट्ने गरेकाले उहाँको भ्रमणको ‘मनिटर’ गर्न निर्देशन गएको छ । (पृष्ठ ३४४)

पारसले रोकेका थिए तारानाथलाई प्रधानमन्त्री बन्न

सरकारको सभामुखसँग के कुरा भएको थियो, त्यो हामीलाई थाहा थिएन । साथै, सरकारको युवराजाधिराज र राजपरिवारका सदस्यहरूसँग के कुरा भएको थियो, त्यो पनि हामीलाई जानकारी हुने विषय भएन । हाम्रो प्रस्तावमा सरकारबाट ‘सभामुखबाट पार लाग्ला र ?’ हुकुम भयो । तर छलफलमा उपस्थित युवराजाधिराजबाट तारानाथ रानाभाटको नाममा कडा आपत्ति जनाइबक्स्यो । अलि एग्रेसिभ भएर ‘नो, नो’ भन्ने हुकुम भयो । हामी छक्क पर्‍यौँ । यसअघि पनि मैले कुनै प्रस्ताव गर्दा युवराजाधिराजबाट ठाडै अस्वीकार गरिबक्सन्थ्यो । आज पनि मैले यही महसुस गरेँ ।

यसरी सभामुखको नाम अस्वीकृत भयो । (पृष्ठ ३४४)

Advertisements
This entry was posted in संस्मरण र दैनिक डायरी. Bookmark the permalink.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s